विधान अधिवेशन अत्यन्त सभ्य रुपमा सम्पन्न भयो

प्राप्त सुझावले पार्टी निर्माणमा सहयोग पुग्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अभिवेशन अत्यन्त सभ्य भएको र यसले पार्टी निर्माण एवं विशेष महाधिवेशनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलनपछि आज सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्राप्त सुझावका आधारमा ओजपूर्ण बनाउने विश्वास दिलाउनुभयो । 

अध्यक्ष प्रचण्डले आगामी महाधिवेशनदेखि जनवादको आधारमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट समिति निर्माण गर्ने र समितिबाट प्रत्यक्ष निर्वाचनको विधिबाट नै पदाधिकारी चयन गर्ने निष्कर्षमा पुगेको बताउनुभयो ।

आम रुपमा पार्टी समिति सानो बनाउनुपर्ने सबैको सुझाव आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी अधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय समिति बनाइने निष्कर्ष सुनाउनुभयो । आगामी अधिवेशनपछि ११ जनाको केन्द्रीय कार्यालय बनाउने र त्यसैलाई प्रभावकारी बनाइने उहाँले जानकारी दिनुभयो ।

योग्यता र कार्याअवधिको व्यवस्था नियमावली बनाएर जाँदा उचित हुने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रत्येक दुई वर्षमा सदस्यता नवीकरण गरिने बताउनुभयो । प्रदेशलाई बलियो बनाउने विषयलाई उच्च प्राथमिकतामा राख्नेगरी विधान बनाइने बताउँदै त्यसैले सङ्घीयता र समानुपातिक व्यवस्थालाई प्रभावकारी बनाइने अध्यक्षले जानकारी दिनुभयो ।

नाम र चुनाव चिह्नका विषयमा कुनै खास समयमा निर्णय गरिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले धेरै कम्युनिष्ट पार्टीबीच एकता हुने अवस्थामा नाम फेर्न सकिने तर अहिले यथावत राख्ने बताउनुभयो ।

उहाँले मोर्चाहरुलाई वैचारिक तालिमसहित स्वायतता दिने र जनवर्गीय सङ्गठनलाई पनि विस्तार गरिने बताउनुभयो । अध्यक्ष प्रचण्डले स्थायी समितिको बैठकबाट कार्यविभाज गरेर जानकारी दिइने बताउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ११:२३:३५